नेपाली कांग्रेसको पदाधिकारी विवाद टर्यो

काठमाडौं ४ पुस । लामो विवादपछि नेपाली कांग्रेसको पदाधिकारी विवाद साम्य भएको छ । लामो समयको विवादपछिको सहमतति अनुसार अब कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री २/२ जना रहनेछन् ।

उनीहरु पनि महाधिवेशनबाटै सभापतिसँगै निर्वाचित भएर आउनेछन् । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यहरुबाट मनोनित गर्ने सहमति भएको छ । प्रवक्ता पनि पदाधिकारी वा केन्द्रीय सदस्यबाट आउनेछ ।

अहिलेको विधानमा सभापतिसहित एक महामन्त्री र कोषध्यक्ष मात्रै निर्वािचत गर्ने प्रावधान थियो । र उपसभापतिसँगै एक महामन्त्री, सहमहामन्त्री सभापतिले मनोनित गर्ने र केन्द्रीय कार्यसमितिद्धारा अनुमोदन गर्ने व्यवस्था थियो ।  फोरम लोकतान्त्रिकसँग राजनीतिक सहमति गरेपछि एक उपसभापति थपिएको हो ।

महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको विधान संशोधन मस्यौदा समितिले पदाधिकारी संख्या र निर्वाचन पद्धतीमा सहमति गर्न नसकेपछि वर्तमान पदाधिकारीको व्यवस्था गर्न प्रस्ताव गरेको थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला लगाएतका नेताले फरक विचार राखेका थिए ।

त्यसपछिको छलफलमा पार्टी सभापति शेरबहादुर देउवाले २/२ मा हुने प्रस्ताव गरेपछि सहमति भएको हो । सहमतिपछि केन्द्रीय कार्यसमितिमा १६१ सदस्यीय हुनेछन्, त्यसमा ३३ प्रतिशत महिलाको उपस्थिती अनिवार्य हुन्छ । साथै जातीय अनुपात मिलाइने भएको छ ।