हुवावेका कारण चीन र अमेरिकाविच व्यापारीक युद्ध सुरु

काठमाडौं २४मंसिर । चिनियाँ कम्पनी हुवावेकी एक उच्च अधिकारी पक्राउ परेको घटनाका कारण चीन र अमेरिकाविच व्यापारीक युद्ध सुरु भएको छ ।
हुवावेकी प्रमुख वित्तिय अधिकृत मेंग वान्झोउ गत शनिवार क्यानडाको भ्यानकुभरबाट पक्राउ परेपछि अन्तराष्ट्रिय वजारमा तरंग उत्पन्न भएको हो ।
उनी अमेरिकी अधिकारीहरुको आग्रहमा पक्राउ परेकी थिईन् ।

इरानमाथिको लगाइएको प्रतिबन्धको उल्लंघनका लागि हुवावेले प्रमूूख भूमिका खेलेको आरोप अमेरिकी अधिकारीहरुको छ । साथै हुवावे कम्पनी अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि चुनौती बनेको आरोप अमेरिकी सांसदहरुले लगाउँदै आएका छन् । यता चीनले भने हुवावे कम्पनीकी उच्च अधिकारी मेंगलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले सम्पादकीय मार्फत अमेरिकाको आलोचना गर्दै व्यवसायिक प्रतिस्पर्धीको रुपमा रहेको हुवावे कम्पनीलाई धरासायी बनाउने षडयन्त्र रचेको उल्लेख गरेको छ ।
यस घटनाले चिन र अमेरिकाको व्यापारिक सम्वन्ध प्रभावित हुने देखिएकोछ ।

चिनियाँ कम्पनी हुवावे विश्वभर स्मार्टफोन तथा टेलिकम उपकरणहरु उत्पादन र बिक्री गर्ने कम्पनी हो । यसको हड अफिस चीनको शेन्झेनमा छ । अघिल्लो वर्ष हुवावे कम्पनी विश्वको दोश्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी बनेको थियो । आइडिसीका अनुसार स्मार्टफोन सामसुङपछि हुवावे दोश्रो स्थानमा पर्दछ । हुवावे कम्पनीले एप्पलले भन्दा धेरै स्मार्टफोन बेच्न सफल भएको छ ।
हुवावे कम्पनीले चीनको सबैभन्दा ठूलो कम्पनीको रहेकाले विश्वमा प्रविधि क्षेत्रको सबैभन्दा भन्दा शक्तिशाली बन्ने लक्ष्य लिएको छ । यसले फाइभ जी टेक्नोलोजी प्रविधीको विकासमा काम गरिरहेको छ ।

तर हुवावेका स्मार्टफोनले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै कम्पनीको विश्वव्यापीकरणमा गम्भीर प्रभाव देखिएको छ ।

साथै अमेरिकाले आफ्ना जनतालई हुवावेका स्मार्टफोन नकिन्न र सरकारी एजेन्सीहरुमा हुवावेका स्मार्टफोन तथा अन्य उपकरण खरीदमा प्रतिबन्ध लगाएको छ । बेलायत, न्युजिल्याण्ड र अष्ट्रेलियाले पनि फाइभ जी नेटवर्कमा हुवावेका उपकरण प्रयोगमा रोक लगाएका छन् ।

तर आफ्ना उत्पादनहरुमा विश्वका १ सय ७० देशले विश्वास गरिरहेको हुवावेले जनाएको छ । सन् २०१८ को पहिलो त्रैमासिकमा कम्पनीले ४७ अर्ब ४० करोड आम्दानी गरेको छ ।