पाँच वर्ष भित्र गरिबी अन्त्य गर्छाै : अर्थमन्त्री खतिवडा

काठमाडौँ,१ भदौ – अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच वर्ष भित्र मुलुकबाट गरिबी अन्त्य गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री खतिवडाले शुक्रबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य हासिल हुनेगरी सरकारले गरिबी निवारणलगायतका क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि स्पष्ट पारे ।

उनले संयुक्त राष्ट्र संघले घोषणा गरेको भन्दा अघि नै नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने दाबी गरे । त्यसका लागि सरकारले पूर्वाधार विकासको काममा जोड दिएको अर्थमन्त्री खतिवडाको भनाई छ । उनले संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्य अनुसार सरकारले साक्षरता, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा आवश्यक योजना बनाईरहेको बताए । सन् २०३० भित्र नेपालले दिगो विकास हासिल गर्ने लक्ष्य लिएको छ । सोभन्दा अघि नै दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले कामलाई तीव्रता दिएको अर्थमन्त्री खतिवडाको दाबी छ ।