सिरिया — इड्लिबमा बिस्फोट, ३९ जनाको मृत्यु

 

एजेन्सी  , २८ साउन ——सिरियाको उत्तर–पश्चिमी प्रान्त इड्लिब प्रान्तमा भएको बिस्फोटमा कम्तिमा ३९ जनाको ज्यान गएको छ । बिद्रोहीको कब्जामा रहेको मुख्य क्षेत्र इड्लिबको एक घरमा बिस्फोट भएको हो र त्यसका कारण १२ बालबालिकासहित कम्तिमा ३९ जनाको ज्यान गएको स्थानीय स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सारमडा शहरमा रहेको घरमा बिस्फोटका कारण क्षति पुगेको छ । त्यहाँ तस्करले हतियार लुकाउने गरेको बताइएको छ । बिस्फोटका कारण भत्किएको भवनको भग्नावशेषमा अझै धेरै मानिस पुरिएको हुन सक्ने त्यहाँ रहेका पत्रकार तथा सिरियाको अवस्थाबारे अनुगमन गरिरहेका संस्थाले बताएका छन् ।