कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने


काठमाडौं,२७ साउन— नेपाली कांग्रेसले तीन दिन झण्डा झुकाउने भएको छ । पार्टीका पूर्व केन्द्रीय सदस्य भरतसमशेर राणाको निधनमा दुःख व्यक्त गर्दै साउन २७, २८ र २९ गते तीन दिन झण्डा आधा झुकाउने भएको हो ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले राणाको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिनसम्म केन्द्रीय कार्यालय तथा जिल्ला कार्यालयमा झण्डा झुकाउने निर्णय गरेको हो ।
२०१५ सालको चुनावपछि वीपी कोइराला प्रधानमन्त्री हुँदा गोरखा दलका तर्फबाट विपक्षी दलका नेता भएका राणको शनिबार ९० वर्षको उमेरमा आफ्नो निवास कोलकातामा निधन भएको थियो ।