फेमिली खानेतेल बिक्री बितरणमा रोक

काठमाडौ, २५ साउन — बारा पथलैया औद्योगिक करिडोर अन्तर्गत जितपुरमा सञ्चालनमा रहेको शिवशक्ति घ्यू उद्योगले उत्पादन गरेका फेमली ब्राण्डको खाने तेलमा अखाद्य बस्तु मिसाइएको पाइएको छ ।

फेमिली ब्राण्डको खाने तेलमा अखाद्य बस्तु मिसाइएको भन्दै बारा प्रशासनले अनुगमन गरी त्यस तेललाई बिक्री बितरणमा रोक लगाएको छ । बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले बजारमा उपभोक्ताहरुले खानलाई खरिद गरेका फेमिली ब्राण्डको तेल गन्हाएको गुनासो आए पछि तेल बिक्री गर्ने खुद्रा पसल देखि थोक पसलहरु हुँदै उद्योगको पनि अनुगमन गरिएको बताए ।

तीनै तहमा अनुगमन गर्दा शिवशक्ति घ्यू उद्योगबाट उत्पादन भएको फेमिली ब्राण्डको खाने तेलको गन्ध तेल भन्दा फरक कुहिएको बस्तुहरुको गन्ध जस्तो आएकोले त्यस्ता तेलको बिक्री बितरण गर्नमा रोक लगाइएको उनले बताए ।