‘इन्काउन्टरबारे अनुसन्धान हुन्छ’— गृहमन्त्री

काठमाडौं, साउन २४ —गृहमन्त्री रामबहादुर थापाले निशान खड्काको अपहरणमा संलग्न दुई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका छन् ।

बिहिबार राज्यव्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले निशानका अपहरणकारीमाथि भएको इन्काउण्टरबारे अनुसन्धान गर्ने बताएका हुन् ।

‘बिशेष गरेर यो इन्काउन्टरको बारेमा सरकारको आधिकारीक धाराणा बाहिर आइसकेको छैन, यो बारेका छानविन गरेर स्पस्ट गर्ने छौ,’ गृहमन्त्रीले भने।

समिति सदस्य देवेन्द्र कँडेलले प्रहरीले भनेको इन्काउण्टर शंकास्पद भएकाले इन्काउण्टरको अवस्था सृजना हुनुको कारणबारे सोधपुछ गर्न महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरे।

गएको सोमबार प्रहरीको इन्काउन्टरमा परी सिन्धुपाल्चोकका २२ वर्षीय गोपाल तामाङ र नुवाकोटका २३ वर्षीय अजय तामाङको मृत्यु भएको थियो।

प्रहरीले अपहरणकारीसँगको जम्काभेटमा आत्मरक्षाको लागि गोली चलाएको बताउँदै आएको छ।