एसिया कप क्रिकेट का लागि भारतीय ब्याटिङ प्रशिक्षक नेपाल आऊने

२३ साउन, काठमाडौं -एसिया कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टिममा ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोध देसाई आउने भएका छन् ।

अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म भारतमा हुने एसिया कप छनोटका लागि ब्याटिङ तयारी गर्न आफूहरुले देसाईको नाम आईसीसीमा सिफारिस गरेको नेपाली टिमका प्रशिक्षक जगत टमाटाले बताएका छन् ।

‘हामीले देसाईको नाम सिफारिस गरेका थियौं । त्यहीअनुरुपमा आईसीसीले स्वीकृत गरेपछि उनी आउने छन् । सम्भवत अगस्ट १५ सम्म उनी आइपुग्छन्’ प्रशिक्षक टमाटाले भने ।

एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप क्रिकेट खेल्नेछ ।

भारतमा हुने छनोट खेलमा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘ए’मा नेपाल, हङकङ र मलेसिया छन् ।
४३ वर्षका देसाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नेशनल क्रिकेट एकेडेमी (एनसीए) बाट मान्यता प्राप्त लेभल ‘सी’ प्रशिक्षक हुन् । उनले गुजरातबाट सन् १९९६ देखि ९७ सम्म एक वर्ष फस्ट क्लास क्रिकेट खेलेका थिए ।

नेदरल्याण्ड्समा ऐतिहासिक एकदिवसीय सिरिज खेलेर फर्केको नेपाली टोलीले केही दिनमै एसिया कपको तयारी थाल्ने प्रशिक्षक टमाटाले बताएका छन् । नेदरल्याण्ड्ससँगको दुई खेलको सिरिजमा एक/एक को बराबरी गरेको टोलीमा मनोबल बलियो रहेको प्रशिक्षक टमाटाको भनाइ छ ।