घट्दै छ बैंक व्याजदर

काठमाडौ, ८ असार —निश्चित दरभन्दा बढी व्याज नदिनेगरी नेपाल बैंकर्स एसोसिएसनमा भद्र सहमति गरेसँगै वाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका छन्। बैंकहरुबीच व्यक्तिगत तर्फ बचतमा ७ र मुद्दतीमा ११ प्रतिशतभन्दा बढी व्याजदर नदिने सहमति भएसँगै सो दरभन्दा बढी दिँदै आएकाले सूचना जारी गरी सीमाभित्र कायम राखेका छन् ।
एनआइसी एसिया, सिभिल, कुमारी, एनसिसी, माछापुच्छ्रे, सिटिजन्स, प्राइम कमर्सियल, सिद्धार्थ, ग्लोबल आइएमई, नेपाल बंगलादेश, सनराइज, मेगा, हिमालय लगायत बैंकहरुले ब्याजदरलाई सहमतिको सीमाभित्र राखेर सूचना जारी गरेका छन्।

बैंकर्स संघले पुसदेखि कायम राखेको भद्र सहमति एक साताअघि मात्रै तोडिएको थियो। सहमति तोडिएसँगै केही बैंकहरुले उच्च व्याजदरका नयाँ नयाँ योजनाहरु ल्याएका थिए। जसअनुसार बचतमै १० तथा मुद्दतीमा साढे १२ प्रतिशतसम्म व्याज दिनेगरी ति बैंकहरुले सूचना जारी गरेका थिए।
त्यस्तै सिभिलले बचतमा १० तथा मुद्दतीमा १२. २२ प्रतिशत, सेन्चुरी कमर्सियलले मुद्दतीमा साढे १२ प्रतिशतसम्म व्याजदर दिनेगरी नयाँ योजना ल्याएका थिए। ति बैंकहरुले आजैदेखि लागू हुनेगरी बचतमा अधिकतम ७ र मुद्दतिमा अधिकतम ११ प्रतिशतमा झारेका छन्।