संघीय संसदको संयुक्त बैठक आज बस्दै

काठमाडौ,३ असार— संघीय संसदको संयुक्त बैठक आजका लागि बोलाईएको छ । संयुक्त बैठक र संयुक्त समितिहरुको बैठक सञ्चालनसम्बन्धी नियमावली पारितका लागि संघीय संसदको संयुक्त बैठक बस्न लागेको हो । गत सोमबारका लागि बोलाईएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । बैठकबारे जानकारी नभएको भन्दै प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा आवाज उठेपछि बैठक स्थगित भएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह चार बजेका लागि बैठक बोलाउनुभएको हो । यद्यपि यो पटक पनि दुवै सदनलाई संयुक्त बैठकबारे जानकारी दिईएको छैन । बिहान ११ बजे बस्ने दुवै सदनको फरक फरक बैठकमा संयुक्त बैठकबारे जानकारी दिईने संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । नियमावली पारित भएसँगै संसदीय सुनुवाई समिति, संविधान कार्यान्वयनसँग सम्बन्धित संयुक्त समिति गठनका लागि समेत बाटो खुल्नेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैले बैठक सञ्चालन नियमावली भने पारित गरिसकेका छन् ।
साभार— कान्तिपुर