‘पार्टी एकता आजको आवश्यकता हो’ — प्रचण्ड

काठमाडौं, २७ जेठ— नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी एक हुनु आजको आवश्यकता रहेको बताएका छन् ।
विराटगनर तिनपैनीस्थित तत्कालीन माओवादीको कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकता केन्द्रदेखि स्थानीयसम्मको माग बमोजिम नै भएको बताए ।
मुलुकको आर्थिक विकासका लागि आफूहरुले एकतामा जोड दिएको बताएका अध्यक्ष प्रचण्डले सबै पक्षको मनोविज्ञान बमोजिम नै अघि बढेको बताएका छन् । पार्टी एकीकरण भएपछि सबैतर्फ व्यवस्थित रुपमा जोडिने उनले बताएका छन् ।

उनले भने, ‘मुलुकमा धेरै पार्टी हुनु भन्दा कम पार्टीको उपस्थितिमा समुन्नत उन्नति हुनेछ ।’ देश विकासका लागि पार्टी एकताको महत्वपूर्ण भूमिका रहने बताएका अध्यक्ष दाहालले केही समयअघि काठमाडौंमा विभिन्न मुलुकबाट आएका कम्युनिष्ट नेता पदाधिकारीले समेत एकताले सकारात्मक सन्देश दिएको बताएको उल्लेख गरे ।