विश्व – ११ टोली वेस्ट इन्डिजको राष्ट्रिय टोलीसंग ७२ रनले पराजित

जेठ १८, काठमाडौं – अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिलको विश्व – ११ टोलीलाई मैत्रीपूर्ण टि-ट्वान्टी खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीले ७२ रनले पराजित गरेको छ । नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व–११ ले दुई सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७ रनमा अलआउट भएको थियो । बलिङतर्फ १ ओभर मात्र गर्न पाएका सन्दीपले ब्याटिङमा भने नटआउट रहे । पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन जोडेको थियो । विश्व ११ को बलिङमा सन्दीपले १ ओभर मात्र बलिङ गर्दै १२ रन खर्चेका थिए । ओपनर एभिन लेविसले २६ बलमा ५८ रन जोड्दै आक्रामक सुरुआत दिलाएका थिए । उनले ५ चौका र ५ छक्का प्रहार गरे ।

जवाफमा विश्व ११ ले खराब सुरुआत लियो । एक समय ८ रनको स्थितिमा ४ विकेट गुमाएको विश्व ११ टोलीका लागि मध्यक्रममा थिसरा परेराले आक्रामक ब्याटिङ गरे । तामिम इकबाल (२), लुक रोन्ची (०), स्याम बिलिङ्स (४) र दिनेश कार्तिक (०) ले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । परेराले ३७ बलमा ७ चौका र ३ छक्काको मदतले ६१ रन जोडेपछि विश्व ११ ले सम्मानजनक योगफल तयार पारेको थियो ।

सन्दीपले १० औं नम्बरमा ब्याटिङ गर्दै ५ बलमा ४ रन जोडेर नटआउट रहे । टिमल मिल्स चोटका कारण ब्याटिङ गर्न नआउँदा सन्दीप अन्तिम खेलाडी भएका थिए । उनले मिचेल मक्लिनाघनसँग नवौं विकेटका लागि १९ रनको साझेदारी गरे । वेस्ट इन्डिजका केज्रिक विलियम्सले ३ विकेट लिँदा स्यामुएल बद्रि र रसलले १- १ विकेट लिए ।