सगरमाथा दिवसः कीर्तिमानी आरोहीलाई सम्मानीत

काठमाडौ, १५ जेठ —एघारौं अन्तराष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले कीर्तिमानी आरोही तथा आरोहण क्षेत्रमा योगदान र्पुयाउने व्यक्ति तथा संस्थालाई आज सम्मान गरेको छ।

आरोहणमा दक्ष जनशक्ति उत्पादन गर्ने नेपाल माउन्टेनरिक इन्स्ट्रक्टर एशोसिएसनलाई रु एक लाख राशिको ‘राष्ट्रिय सगरमाथा पुरस्कार’ प्रदान गरिएको छ । जनही रु ५० हजारसहितको ‘तेञ्जिङ हिलारी पुरस्कार’ सगरमाथाको २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने कामीरिता शेर्पा, सगरमाथाको नौ पटक आरोहण गर्ने महिला ल्हाक्पा शेर्पा र उचाइ (हेलिकप्टर उडान) भर्ने क्याप्टेन (सिम्रिक एयर प्रालि) का सिद्धार्थ गुरुङलाई कदरपत्रका साथ प्रदान गरियो।
यस्तै एकै परिवारका सात आरोही र एकै परिवारका चार जना एउटै समयमा सगरमाथाको चुचुरामा पुगेर कीर्तिमान बनाउनेलाई गिनिज बुक अफ वल्र्ड रिकर्डसको प्रमाणपत्र प्रदान गरियो।
सगरमाथा आरोहण गर्ने एकै परिवारका सात दाजुभाइमा मिङ्माछिरि शेर्पा(१९ पटक), निमागोम्बु(१८), पासाङतेञ्जिङ (११), ठूडु(१०), आङ्छिरिङ (१), निमातेम्बा(१) र पेमाथिलि(१) रहेका छन्।