बालकृष्ण ढुंगेल रिहा हुँदै, राष्ट्रपतिले दिइन् स्वीकृति

जेठ १५,काठमाडौं – जनयुद्धको समयमा व्यक्ति हत्याको मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर जेल गएका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेल गणतन्त्र दिवसका अवसरमा मंगलबार रिहा हुने भएका छन् ।

बालकृष्णलार्इ आममाफी दिने गरी सरकारले रिहार्यका लागि गरेको सिफारिसलार्इ स्वीकृत गर्दै राष्ट्रपतिको कार्यालयले गृहमन्त्रालयलार्इ पत्र पठाएपछि ढुंगेल गणतन्त्र दिवसका दिन रिहा हुन लागेका हुन् ।

सर्वोच्च अदालतले द्वन्द्वकालिन घटनासम्बन्धी एक मुद्दामा जेलमा रहेका पूर्वसभासद बालकृष्ण ढुंगेलको सजाय माफी दिने विषयको सक्कल फाइल पेश गर्न सरकारलाई आदेश दिएकै दिन राष्ट्रपतिले ढुंगेलको रिहार्इका लागि स्वीकृति दिएकी छन् ।

सशस्त्र द्वन्द्वका बेला २०५५ सालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ढुंगेललाई जिल्ला अदालत ओखलढुंगाले २०६१ सालमै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

त्यसपछि पक्राउ परेर कैद सजाय भुक्तान गरिरहेका बेला पुनरावेदन अदालतले फैसला उल्ट्याइदिएपछि उनी रिहा भएका थिए । त्यसपछि तत्कालिन माओवादीकातर्फबाट २०६४ सालको पहिलो संविधानसभा सदस्यमा उनी  ओखलढुंगाबाट निर्वाचितसमेत भएका थिए ।

२०६६ सालमा सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गरेपछि भने उनी ‘‘फरार अभियुक्त’ बने । तर राजनीतिक रूपमा भने उनी निरन्तर क्रिय देखिन्थे ।

सर्वोच्चले बारम्बार ताकेता गर्दा पनि प्रहरीले पक्राउ गर्न आनाकानी गरिरहेकामा अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै २०७४ कात्तिक ७ मा प्रहरी प्रमुखविरुद्ध अवहेलना मुद्दा दायर भएपछि ढुंगेल पक्राउ परेका थिए ।

सर्वोच्चका न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सोमबार बालकृष्णको रिहा गर्ने निर्णय गरेको सरकारी फाइल उपलब्ध गराउन आदेश दिएको थियो । सोमबारको बहसपछि सर्वोच्चको  आदेशमा सरकारको माफी दिनेसम्बन्धी सिफारिसको फाइल महान्यायाधीवक्ता कार्यालयमार्फत इजलासलाई देखाएर फिर्ता लैजान भनिएको थियो ।

ढुङगेललाई माफी हुने वा नहुने विषयमा सक्कल फाइल आएपछि मात्र निर्णय सर्वोच्ले गर्ने भएको छ ।  सरकार र ढुङ्गेलविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा मंगलबार पनि बहस हुनेछ । अन्नपुर्णबाट