बैतडीमा एम्बुलेन्स दुर्घटना, बिरामीसहित चार जना घाइते

काठमाडौ, १३ जेठ— बैतडीमा एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् । आज बिहान भएको दुर्घटनामा एम्बुलेन्समा रहेका बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उहाँको साथमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यस्तै, एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का २४ वर्षीय गोविन्द धामी पनि घाइते भएका प्रहरीले जनाएको छ । दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म१झ १०३ नंको एम्बुलेन्स बिहान ३ बजेतिर महाकाली राजमार्गअन्तर्गत सुर्नया गाउँपालिका–३ धरमघर नजिकै दुर्घटनामा परेको हो । एम्बुलेन्स सडकबाट करीब एक हजार मिटर तल झाडीमा खसेको छ । एम्बुलेन्स दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।