रियल म्याड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि,गेराथ बेलको उत्कृष्ट प्रदर्शन

जेठ १३, काठमाडौँ- गेराथ बेलको उत्कृष्ट प्रदर्शन तथा लिभरपुलका गोलकिपर ह्युगो लोरिसको गल्तीको मद्दतले रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

बेञ्चबाट आउँदै बेलले च्याम्यिन्स लिगको फाइनलको सबैभन्दा उत्कृष्ट गोल मध्ये एक गरे भने लोरिसलाई अर्को गल्ती गर्न बाध्य बनाएपछि लिभरपुललाई ३–१ गोलले अन्तरले हराउँदै रियल युरोपियन च्याम्पियन बनेको हो ।

खेलको शुरुवात अघिसम्म आजको खेल क्रिस्टियानो रोनाल्डो र मोहमद शलाहबीचको भिडन्त हुने अपेक्षा गरिएको थियो । तर, पहिलो हाफको मध्यतिर शलाह घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए ।
२५ वर्षीय इजिप्सियन खेलाडी कुममा चोट लागेपछि मैदान छाड्न बाध्य बनेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको दोस्रो हाफको शुरुवातमा नै गोलकिपर लोरिसको गल्तीको फाइदा उठाउँदै करिम बेन्जेमाले रियललाई अग्रता दिलाए ।

तर, लगत्तै कर्नरमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेल १–१ को बराबरीमा रहेको बेला बेल खेलमा आए । लगत्तै उनले खेलको ६४ औँ मिनेटमा रियललाई पुनः अग्रता दिलाए । उनले रोनाल्डोले टुरिनमा गरेको ओभरहेड किकजस्तै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

खेलको ८३ औँ मिनेटमा उनको प्रहारलाई गोलकिपर लोरिसले रोक्न नसक्दा रियलले अग्रता फराकिलो बनायो ।

त्यसपछि कुनै गोल हुन सकेन र रियलले खेल ३–१ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।

यसअघि पहिलो हाफमा रियलका डिफेन्डर ड्यानी कार्भाहल पनि घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।

योसँगै रियल बायर्न म्युनिखपछि युरोपियन कप–च्याम्पियन्स लिग लगातार तीन पटक जित्ने पहिलो टोली बनेको छ । सँगै रियलका प्रशिक्षक जिनेदिन जिदान यो उपाधि तीन पटक जित्ने बब पेइस्ली र कार्लो एन्चेलोटीपछि तेस्रो प्रशिक्षक बनेका छन् ।

उता जर्गन क्लपले भने ७ मध्ये ६ वटा कप फाइनलमा हार बेहोर्न बाध्य बनेका छन् ।