पार्टी एकता घोषणासभामा ओलीको ठट्यौली र दाहालको भावुकता

जेठ ४, काठमाडौँ – पार्टी एकता घोषणासभामा अध्यक्ष पुष्पकमल दाहाल भावुक बनेका थिए भने ओलीले ठट्यौली शैलीमा कार्यकर्तालाई हँसाएका थिए । ‘एकतालाई कसरी व्याख्या गर्ने भन्ने शब्दको दुःख भएको छ,’ भाषणमा माहिर मानिने दाहालले भने । आफ्नो पुस्ता ‘डाँडामाथिको जून’जस्तै भएको भन्दै दाहालले नयाँ पुस्ताको भविष्यका लागि एकता गरिएको उल्लेख गरे ।

सम्बोधनका क्रममा पटकपटक गला अवरुद्ध भएका दाहालले पार्टी एकतालाई ‘क्रमभंगताको गुणात्मक फड्को’ भएको दाबी गरे । पार्टी एकता आजै (बिहीबार) गर्नुपर्छ भनेर आफूले ओलीसँग प्रस्ताव गरेको पनि दाहालले बताए । ‘तपार्इंहरूले थाहा पाएको मितिमा पार्टी एकता हुँदैन, थाहा नपाएको मितिमा हुन्छ भनेर मैले दुई दिन अघि मात्र भनेको थिएँ,’ दाहालले भने, ‘आज जेठ ३, मदन भण्डारी र जीवराज आश्रितकै स्मृति दिवसका दिन पार्टी एकता गर्न पाएकोमा गर्व व्यक्त गर्न चाहन्छु ।’

दाहालपछि बोल्ने पालो थियो, ओलीको । ‘प्रचण्डजीको त गला अवरुद्ध भयो, पुष्पलालजी जीवित हुनु भएको भए बूढो मान्छे नाच्नु हुन्थ्यो,’ ओलीको भनार्इ नसकिँदै दर्शकदीर्घामा ताली र हाँसोको फोहरा छुट्यो । एकपछि अर्को ठट्यौली शैली पस्कँदै ओलीले भने, ‘पार्टी एकतामा दुई दिनको समय लाग्छ भनेको थिएँ, कतिलाई ठट्टै लाग्यो,’ फेरि हाँसो र तालीले गुन्जियो राष्ट्रियसभा गृह ।

केही दिन अघि मात्र आफू र दाहाल एकअर्कोतिर फर्केको भनी प्रकाशित समाचारबारे पनि ओलीले व्यंग्य गरे, ‘मैले त्यो देखेर भोलि बिहान को कता फर्केको छ, फोटो खिच्न आउनू भनेको थिएँ, हिजो बिहान त देखियो नि।’ नयाँ पार्टीमा दुई अध्यक्ष रहेकोबारे पनि ओलीले ठट्यौली शैलीमा व्याख्या गरे । ‘टेम्पो चलाए जस्तो होइन,’ ओलीले भने, ‘जेटमा दुई जना पाइलट हुन्छन्, हाइटमा उडाउनुपर्छ ।’
अन्नपूर्णबाट