कंगोमा इबोला देखिएपछि नेपालमा सर्तकता अपनाइदै

 

 

काठमाडौ, २ जेठ   पश्चिम अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको संक्रमण देखिएपछि नेपालमा सतर्कता अपनाइएको छ । शान्ति स्थापनार्थ नेपाली सेना खटिएको कंगोमा इबोला संक्रमण देखिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सतर्क गराएको हो ।

कंगोमा नेपाली सेनाबाहेक पछिल्लो समय गैरसरकारी संस्थामा काम गर्न जानेहरूको समेत आवतजावत बढेकाले सतर्कता अपनाउन निर्देशन दिएको महाशाखाका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले बताए ।

‘आज मात्रै हामीले अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कका इन्चार्जलाई एलर्ट गराएका छौँ,’ सेन्चुरीले भने, ‘कंगोलगायत पश्चिम अफ्रिकी मुलुक हुँदै भित्रिने सबै यात्रुको रेकर्ड राख्न तथा आवश्यक सावधानी अपनाउन भनेका छौँ ।’

हेल्थ डेस्कका इन्चार्ज हरिकुमार उपाध्यायले नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय विमानलाई हेल्थ डेस्कमा सम्पर्क गर्न भनिने बताए । विशेषतः पश्चिमी अफ्रिकी मुलुक, अझ कंगो भ्रमण गरेकालाई अनिवार्य डेस्कमा सम्पर्क गराउन भनिने उनले बताए ।

त्यसैगरी, अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीलाई अभिमुखीकरण तालिमका लागि पनि पहल भइरहेको उपाध्यायले जानकारी दिए । सन् २०१४ देखि २०१६ सम्म सियरालिओन, लाइबेरिया, गिनिया, मालीलगायत मुलुकमा इबोला संक्रमण देखिएपछि सतर्कतास्वरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारी र सुरक्षाकर्मीलाई अभिमुखीकरण तालिम दिइएको थियो । तर, हाल ती कर्मचारी नभएकाले फेरि तालिम दिन आवश्यक रहेको उपाध्यायले बताए । हेल्थ डेस्कले रोग फैलिएको देशबाट आउने व्यक्तिको रेकर्ड राख्नुका साथै उनीहरूमा स्वास्थ्य समस्या देखिए सम्पर्क गर्ने स्थानबारे जानकारी गराउ“छ ।

साभार नयाँ प्रत्रिका