औद्योगिक क्षेत्रहरु पनि आजदेखि लोडसेडिङ मुक्त

वैशाख ३१, काठमाडौ— औद्योगिक क्षेत्रहरु पनि आजदेखि लोडसेडिङ मुक्त हुने भएका छन् । यसअघि दैनिक ३ घण्टा लोडसेडिङ हुँदै आएका औद्योगिक क्षेत्रमा आजदेखि नियमित विद्युत आपूर्ति हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घोषणा गर्नु भएको छ ।
विद्युत उत्पादनमा वृद्धि, चुहावट नियन्त्रण तथा मागमा आएको परिवर्तनका कारण लोडसेडिङ अन्त्य गर्न सम्भव भएको घिसिङले बताउनु भएको छ । प्राधिकरणले २०७३ कात्तिकदेखि राजधानी उपत्यका र त्यसको केही समयपछि देशभरको लोडसेडिङ अन्त्य गरे पनि औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य हुन सकेको थिएन ।
अब विजुली बत्ति पुगेका करिब ६० प्रतिशत जनसंख्या लोडसेडिङबाट पूर्णरुपमा मुक्त भएका छन् । ४० प्रतिशत जनता भने अझै विद्युतको प्रयोगबाट टाढा रहेका छन् ।