भरतपुरमा विप्लव द्धारा ग्रिनेट विस्फोट

वैशाख ३०, काठमाडौ—चितवनको भरतपुर ओरालो नजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आइतवार बिहान ३ बजेर ४५ मिनेट जाँदा बम विस्फोट भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडिको भागको सिसा फुटेको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने एक जनाको पहिचान भएको र खोजी जारी रहेको बताउनुभयो । मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको उहाँले बताउनुभयो ।
विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दको हल्लाले आज चितवनमा फाट्टफुट्ट मात्रै सवारी चलेको छ ।
यसैबीच, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्टले आव्हान गरेको बन्दले गुल्मीको जनजीवन प्रभावित भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी ओली नेतृत्वले सरकारले गरेको राष्ट्रघात, नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोध गर्नुपर्ने अनिवार्यता भएको भन्दै सो पार्टीले आव्हान गरेको बन्दले गुल्मीको जनजीवन प्रभावित भएको हो । बन्दका कारण देशका अन्य जिल्लाहरुमा पनि जनजीवन सामान्य प्रभावित बनेको छ ।
बन्द साँझ ५ वजेपछि खुल्ने बताइएको छ ।