यातायातमा सिन्डिकेट अन्त्यसँगै सबै क्षेत्रका सिन्डिकेट अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

बैशाख २४, काठमाडौं – प्रधानमन्त्री केपी ओलीले यातायातमा सिन्डिकेट अन्त्यसँगै सबै क्षेत्रका सिन्डिकेट अन्त्य गर्ने बताएका छन् । एमाले संसदीय दलको आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा उनले सिन्डिकेट कतै पनि स्विकार्य नहुने भन्दै यातायातको सिन्डिकेट अन्त्य त सुरुवात मात्र भएको दाबी गरे ।

‘कसैले सोचेको पनि थिएन, सरकारले सिन्डिकेट तोड्छ भनेर’, प्रधानमन्त्री ओलीले भने, ‘तर सरकारले तोडेरै छाड्यो । यो सरकार जनताको पूर्ण समर्थन प्राप्त बलियो सरकार हो ।’ यातायातको सिन्डिकेट अन्त्य सुरुवात मात्र भएको दोहो¥याउँदै उनले भने, ‘अरू क्षेत्रमा पनि सिन्डिकेट छ अब ती पनि सरकारले तोड्छ ।’

कांग्रेस नेता डा. शेखर कोइरालाले आफ्नो नेतृत्वको वाम गठबन्धन सरकार कांग्रेसले फू गरेर ढाल्ने चेतावनी दिएकामा ओलीले आक्रोश व्यक्त गरे । ‘यो लुलो सरकार होइन भन्ने हेक्का राख्न आग्रह गर्छु’, ओलीले चेतावनीको शैलीमा भने, ‘उहिले एक जना अंकलले सरकारलाई फू गरेर ढाल्छु भनेका थिए । उनका भतिजाले त्यही शब्द प्रयोग गरेर यो सरकार ढाल्छु भनेछन् ।’ उनले कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालालाई ‘अंकल’ को संज्ञा दिएका थिए । कोइरालाले स्व. मनमोहन अधिकारी नेतृत्वको अल्पमतको एमालेको पहिलो सरकारलाई ‘फू’ गरेर ढाल्ने चेतावनी दिएको प्रसंग ओलीले उल्लेख गरेका थिए ।
अन्नपूर्णबाट