प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत शर्त – राज्यमन्त्री बाँस्कोटा

बैशाख २०,काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकारिताको व्यावसायिक अभ्यासका क्रममा एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति जीवन उत्सर्ग गर्ने सम्पूर्ण सञ्चारकर्मीहरु प्रति उच्च सम्मान सहित श्रद्धाञ्जलिका साथै सम्पूर्ण पत्रकार र विश्वभर छरिएर रहेका सबै सञ्चारकर्मी प्रति शुभकामना व्यक्त गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस–२०१८ का अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत शर्त भएको र आधुनिक सभ्य समाजमा प्रेस जगत र तिनको स्वतन्त्रताको महत्व सर्वोपरी रहेको उल्लेख गरेका छन् । पत्रकारले स्वतन्त्रतापूर्वक भयरहित वातावरणमा सूचना संकलन तथा बिना अवरोध सम्प्रेषण गर्न पाउनु पर्ने बताउँदै उनले सन्देशमा भनेका छन् – “यद्यपि व्यवहारमा त्यसको अभ्यास कति जटिल छ भन्ने पत्रकार माथि विश्वका विभिन्न भागमा भइरहेका हिंसा र अवरोधका घटनाले पुष्टि गरेको छ ।”

सन् २०१७ मा मात्रै पेशागत दायित्व निर्वाहको सिलसिलामा विश्वभर ७९ जना पत्रकारको हत्या भएको अवस्थाले पत्रकारको सुरक्षाको अवस्था भयावह रहेको स्पष्ट पारेको उनले सन्देशमा उल्लेख गरेका छन् । विभिन्न कालखण्डमा पत्रकार हत्या, अपहरण, प्रेस माथि सेन्सरसीप लगायत प्रेस स्वतन्त्रता माथि हस्तक्षेपको कहालीलाग्दो अवस्था रहेको स्मरण गर्दै उनले अहिले अवस्था सुधार हुँदै गएको बताए ।

सन्देशमा उनले भनेका छन् – “संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको छ भने अभ्यासमा पनि त्यही अनुसारको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको छ ।” पत्रकारको भौतिक र पेशागत सुरक्षा, उनीहरुको वृत्ति विकासको अवसर, सूचनामा पहुँच, कुनै पनि अवरोध बिना प्रकाशन/प्रशारणको स्वतन्त्रता एवं मर्यादित तथा व्यावसायिक पत्रकारिताको विकासका लागि वर्तमान सरकारले सुधारका कार्य थालिसकेको पनि उनले सन्देशमा उल्लेख गरेका छन् ।
रासस