रोजगारका लागि ९ महिनामा १ लाख ४० हजार देशवाहिर

काठमाडौं, १५ वैशाख —आर्थिक वर्ष २०७३र७४ को पछिल्लो ९ महिनामा १ लाख ४० हजार नेपालीले देश छाडेका छन् । यो अवधिमा सबैभन्दा धेरै नेपाली मलेसिया पुगेका छन् भने जापान जाने कम छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक अनुसार, ०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२ र महिला पाँच हजार ३७८ गरी जम्मा एक लाख ४० हजार १०० पूर्वस्वीकृति लिएर विदेश भासिएका छन् ।

रोजगार अनुमति प्रणाली (इपिएस) भएर पनि यो अवधिमा नेपालीहरु विदेश पुगेका छन् । ईपीएस परीक्षा उत्तीर्ण पुरुष ७१५ र महिला ५९ जना दक्षिण कोरिया गएका हुन् ।

चैतमा पनि ११ हजार ४०३ जना नेपाली मलेसिया पुगेका छन् । यो संख्या नेपालीले रोजगार अनुमति पाएको मुलुकमध्येकै बढी हो ।

कम जाने मुलुकमा जापान छ । त्यहाँ चार मात्र वैदेशिक रोजगारीका लागि गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

रासस