क्रिस गेल क्रिजमा नजम्दा पञ्जाब हैदराबादसंग १३ रनले हार्यो

बैशाख १४, काठमाडौँ – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार किङ्स ११ पञ्जाबलाई १३ रनले हराएको छ । ७ मध्ये ५ खेल जितेको हैदराबादको १० अंक साथ दोस्रो स्थानमा उक्लेको छ । ६ खेलमा चेन्नई सुपर किङ्स र ७ खेलमा पञ्जाबको पनि समान १० अंक छ । चेन्नई शीर्ष र पञ्जाब तेस्रो स्थानमा छ ।

१ सय ३३ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि ओपनर लोकेश राहुलले ३२ र क्रिस गेलले २३ रन बनाए ।

करुन नायरले १३ र मयंक अग्रवालले १२ रन बनाएका थिए । हैदाराबादका लागि रसिद खानले ३ , सकिब, सन्दीप शर्मा र बसिल थम्पीले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले मनीष पाण्डेको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । मनीषले ५४ रनको योगदान गरे ।

सकिब अल हसनले २८, युसुफ पठानले अविजित २१ र शिखर धवनले ११ रन बनाएका थिए । मनीषले ५१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए । सकिबले ३९ बलमा ३ चौका प्रहार गरे ।

त्यस्तै १९ बल खेलेका युसुफले १ चौका र १ छक्का प्रहार गरे । पञ्जाबका लागि अंकित राजपुलले ५ विकेट लिए । ४ ओभरमा उनले १४ रन खर्चेका थिए । मुजिब उर रहमानले १ विकेट लिए ।

आइपिएलमा शुक्रबार दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्लीले खराब प्रदर्शन गरिरहेको छ ।

६ खेलमा १ खेलमा जित र बाँकी सबै खेल गुमाएको दिल्ली २ अंकसहित पुछारमा छ । सन्दीपले पछिल्ला ६ खेलमा खेल्न अवसर पाएका छैनन् । कोलकाता ६ खेलमा ३ जितका साथ चौथो स्थानमा रहेको छ ।