देशभर औषधि अभाव हुँदा पनि सरकार मौन

बैशाख १४, काठमाडौँ – २५ भन्दा धेरै जिल्लाका स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा पनि सरकारका सरोकारवाला निकाय मूकदर्शक बनेका छन् । कतै बजेट त कतै समन्वय अभावका कारण औषधि हाहाकार भएपछि बिरामीहरू मारमा पर्दै आइरहेका छन् । स्वास्थ्य सेवा विभागले औषधि अभावबारे बुझ्न सल्यानमा एक कर्मचारी पठाए पनि औषधि आपूर्तिमा पर्याप्त संवेदनशीलता नदेखाएको गुनासो कायमै छ ।

जनस्वास्थ्यविद प्राडा शरद वन्तले औषधि अभावको विषय अत्यन्तै संवेदनशील रहेको भन्दै स्थानीय तहमा बजेट विनियोजन गरेर केन्द्र जिम्मेवारीबाट पन्छिन नहुने बताए । ‘यसमा झारा टार्ने गरी काम गर्नु हुँदैन’, उनले भने, ‘आधारभूत स्वास्थ्य सेवा पाउनबाट जनता वञ्चित हुनु भनेको मौलिक हकको हनन हो । स्थानीय होस् वा केन्द्र होस्, जनताको अभिभावक राज्य हो । राज्य गैरजिम्मेवार हुनु हुँदैन ।’

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. दीर्घसिंह बम सबैभन्दा धेरै अन्तर्राष्ट्रिय पुरस्कार थाप्ने मन्त्रालयले औषधि आपूर्तिमा संवेदनहीन देखिएको बताए । उनले भने, ‘स्वास्थ्यमा प्रगति भएको भन्दै अन्य मन्त्रालय भन्दा धेरै अन्तर्राष्ट्रिय पुरस्कार थाप्ने तर औषधि आपूर्ति गर्न नसकी औषधि अभाव हुनु भनेको लज्जास्पद कार्य हो ।’ नीतिगत कमजोरीका साथै मन्त्रालय र स्वास्थ्य सेवा विभागको व्यवहारगत समन्वय नहुँदा औषधि अभाव हुन पुगेको उनको दाबी छ ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल भने स्याङजा जिल्ला अस्पतालमा बुधबार आयोजित कार्यक्रममा बोल्दै निःशुल्क औषधि वितरण प्रणालीको दुरुपयोग हुँदा समस्या सिर्जना भएको बताइन् । तर विद्यमान समस्यालाई मन्त्रालयले कसरी सम्बोधन गरिरहेको छ भन्नेबारे उनले कुनै जानकारी दिइनन् ।
अन्नपूर्णबाट