पार्टी एकताको मिति घोषणा वैशाख १४ गते हुन्छ – प्रचण्ड

बैशाख १२, चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी बीचको एकता घोषणाको मिति आउँदो वैशाख १४ गते तय गरिने बताए ।

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मे १ वा मे ५ मा पार्टी एकता घोषणा गर्ने कोशिश भइरहेको जानकारी दिए ।

दुई पार्टीका अध्यक्षले पर्याप्त समय निकाल्न नसकेका कारण एकतामा ढिलाइ भएको स्वीकार्दै उनले भने, “प्रधानमन्त्रीजीको व्यस्तता हुने नै भयो । म पनि व्यस्त नै छु । यसले थोरै ढिलो भएको हो ।” समय निकालेर छलफलमा बसेमा कुरो टुंगिने उनको भनाइ थियो ।

पार्टी एकतामा त्यस्तो जटिल केही नरहेको जानकारी दिँदै उहाँले दुई चार दिन ढिलो होस् तर राम्रो होस् भन्नेतर्फ आफूहरुको ध्यान गएको बताए । दाहालले भने, “हतारमा एकता गर्ने, पछि गएर यी कुरा पहिले नै सल्लाह गर्नुपर्ने भन्ने नहोस् भन्ने हाम्रो चाहना छ ।”

एमाले अध्यक्ष केपी शर्मा ओलीले जुत्ता अनुसारको खुट्टा बनाउने भन्ने भनाइ प्रतीकात्मक भएको बताउँदै उनले भने, “लेनिनले के गर्ने भन्ने पुस्तक लेख्दा बरु सय चोटि नाप्ने तर खुट्टा अनुसारको जुत्ता बनाउने भन्ने कुरालाई उनले प्रतीकात्मक रुपमा उठाउनुभएको हो । हामी त्यस्तो ठाउँमा आएका छौं । खुट्टा काटेर भए पनि जुत्ता मिलाउनुपर्ने छ भन्नुभएको हो ।”

अर्को एक प्रसंगमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हुन गइरहेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “मोदीजीको धेरै पहिलेदेखि रोकिएको काम पनि हो जनकपुर र मुक्तिनाथ जाने । यस बाहेक अरू छलफल पनि हुने कार्यक्रम छ ।”

उनले दुई देशबीचको सम्बन्ध सुधार भइरहेको पनि बताए ।