नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक जारी

वैशाख १०, काठमाडौ–नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पनि जारी छ । हिजो देखि शुरु भएको बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरुले आफ्नो धारणा आज राख्दैछन् । निर्वाचनमा भएको पराजयको समीक्षा गर्न गत चैत ९ गते सुरु भएको बैठक बीचमा स्थगित भएपछि पुनः हिजो सुरु भएको थियो ।

सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भएको हारको समीक्षा गर्दा अधिकांश केन्द्रीय सदस्यहरुले हारको जिम्मेवार पार्टी नेतृत्व नै भएको भन्दै जारी बैठकमा आक्रोश व्यक्त गरेका छन् । विभिन्न गुटहरुमा विभाजित भएको कांग्रेसमा नेतृत्वको विरोध र बचाउ गर्नमै केन्द्रीय सदस्यहरुले आफ्नो समय खर्चिरहेका छन् । बैठकमा बोल्न बाँकी सबै सदस्यहरुले आफ्नो धारणा राखेपछि पार्टीले संगठन सुदृढिकरणका लागि गर्ने आगामी कार्यक्रमहरुको खाका तयारी गरिने केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिनुभयो ।
साथै पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा रिक्त रहेका पदाधिकारी मनोनयनको प्रस्ताव पनि बैठकमा राख्ने तयारी गर्नुभएको छ ।