३० सचिवको सरुवा, को कहाँ ?

 

काठमाडौं, चैत २४—सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ३० जना सचिवको एकै पटक सरुवा गरेको छ । सरकारले पहलो पटक यति ठूलो संख्यामा सचिवको सरुवा गरेको छे ।
२० चैतमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय व्यवस्थापन गर्ने क्रममा सचिवको सरुवा गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । सोही निर्णयअनुसार शुक्रबार सचिव सरुवाको सूची सार्वजनिक गरिएको छ ।
गृह मन्त्रालयको सचिवमा प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईलाई, अर्थ मन्त्रालयको सचिवमा अख्तियारका सचिव राजन खनाललाई सरुवा गरिएको छ ।

सरकारले गृहका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा,अर्थका सचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा, खगराज बराललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ भने डा .विश्वनाथ ओलीलाई वन तथा वातावरण मन्त्रालयमा,सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

यसैगरी, प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा, युवा तथा खेलकुदका महेश दाहाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृष्णराज विसीलाई खानेपानी मन्त्रालय, मधुसूदन अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्जय शर्मालाई जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, वनका युवकध्वज जिसीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, वातावरणका प्रकाश माथेमालाई पशु विकास, नेपाल ट्रस्टका अर्जुन कार्कीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, योजना आयोगका विष्णु लम्साललाई रक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालयका शरद्चन्द्र पौडेललाई राष्ट्रिय योजना आयोग, श्रमका लक्ष्मण मैनालीलाई प्रधानमन्त्री कार्यालय, जल तथा ऊर्जा आयोगका रमेशप्रसाद सिंहलाई नेपाल ट्रस्टमा सरुवा गरिएको छ ।

यसैगरी, राष्ट्रपति कार्यालयका भूपेन्द्र पौडेललाई प्रधानमन्त्री कार्यालय र आपूर्तिका अनीलकुमार ठाकुरलाई राष्ट्रिय महिला आयोगमा सरुवा गरिएको छ । उपराष्ट्रपति कार्यालयका लालशंकर घिमिरेलाई प्रधानमन्त्री कार्यालय, प्रम कार्यालयका कृष्णराज विसीलाई खानेपानी मन्त्रालय, खानेपानीका गजेन्द्रकुमार ठाकुरलाई शिक्षा, विज्ञान तथा प्रविधि, भौतिकका देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोग, विज्ञान तथा प्रविधिका सञ्जय शर्मालाई जलस्रोत ऊर्जा तथा सिँचाइ मन्त्रालय, प्रदेश १ का कामु प्रमुख सचिव यादवप्रसाद कोइरालालाई काठमाडौं महानगरपालिका र प्रदेश ६ का प्रमुख सचिव सुरेश प्रधानलाई प्रदेश १ को प्रमुख सचिवमा सरुवा गरिएको छ । आजको अन्नपुुर्ण पोष्टमा खवर छापिएको छ ।