प्रधानमन्त्री ओली आज तीन दिने भारत भ्रमणमा

चैत्र २३,काठमाडौँ – निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज छिमेकी भारतको राजकीय भ्रमणमा जान लागेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिन पछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण हुन लागेको हो । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारी सहित भ्रमण टोली ५४ हुने भएको छ ।

नेपाल वायु सेवा निगमको नियमित उडानबाट शुक्रबार बिहान ९ः०० बजे भारत प्रस्थान गर्ने प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल लगायत सहभागी हुँदै छन् । भ्रमण दलमा संघीय संसद्का सदस्यहरु शरत सिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतीलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो र विमलप्रसाद श्रीवास्तव सहभागी हुनेछन् ।

प्रतिनिधिमण्डलमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीको निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महत्तो पनि भ्रमणमा रहने छन् ।

भ्रमण दलमा पहिलो पटक कला क्षेत्रबाट नायक राजेश हमाल र चलचित्र निर्देशक दिनेश डिसी पनि हुने छन् । यसबाहेक निजी खर्चमा उद्योगी÷व्यावसायी र निजी क्षेत्रका सञ्चार माध्यमका प्रतिनिधि सामेल हुनेछन् । राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र रेडियो नेपालका सञ्चारकर्मीको भ्रमण दलमा सहभागिता रहेको छ । यस्तै नेपाली दूतावास नयाँ दिल्लीबाट कार्यबाहक राजदूत भरतकुमार रेग्मी, इकोनोमिक मिनिष्टर कृष्णहरि पुस्कर लगायत नौ जनाको सहभागिता रहनेछ ।