संघीयता धरापमा परिसक्यो, खारेज गरौँ : चित्रबहादुर केसी

चैत्र २०, काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता कार्यान्वयनमा चुनौती देखिएकाले त्यसलाई खारेज गर्नु पर्ने माग गरेका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान अनुसार प्रादेशिक संरचनामा बढेको खर्च धान्न मुस्किल रहेको बताए । देशको आर्थिक अवस्था कमजोर रहेको अवस्थामा अहिले मुलुकमा संघीयता कार्यान्वयन हुन सक्दैन, उनले जिकिर गरे ।

अध्यक्ष केसीले प्रदेशमा ठुलो आर्थिक खर्च हुने भएकाले पूर्वाधार विकासमा अवरोध पुग्ने पनि उल्लेख गरे । राजनीतिक दलले संघीयताका लागि संघर्ष गरेको इतिहास नै छैन, उनले भने, यसले जातीय र क्षेत्रीय बिग्रह तथा विखण्डनको स्थिति ल्याउन सक्नेतर्फ चनाखो हुने बेला भएको छ ।

राजनीतिक दलले स्थानीय तहमा दिएको अधिकार अत्यन्त महत्वपूर्ण भएको बताउँदै उनले विकेन्द्रीकरणको आधारमा संविधान संशोधन गरी संघीयता खारेज गर्नु पर्ने प्रस्ताव गरे । देश र जनताको हितमा काम गर्न राजनीतिक दल र सरकारले अग्रसरता देखाउनु पर्छ, उनको भनाई थियो ।
अन्नपूर्णबाट