महाकाली नदीमा भारतले अनुमतिविना बनाएका ५ पुल नेपालीले भत्काए

चैत्र १५,दार्चुला – महाकाली नदीमा भारतले बनाएका ५ वटा काठेपुल नेपालीले भत्काएका छन् । अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा भारतले ८ वटा काठेपुल बनाएको थियो । ति मध्ये ५ वटा काठेपुल नेपाली पक्षले भत्काएका हुन् ।

दार्चुलाको उत्तर पश्चिमी क्षेत्र व्याँस गाउँपालिका-२ राप्लाका विभिन्न क्षेत्रमा भारतले ८ वटा अस्थायी काठेपुल निर्माण गरेको वडा नम्बर २ का वडाध्यक्ष धिरनसिँह बुढाथोकीले जानकारी दिए ।

व्याँस गाउँपालिका-२ राप्लाको तम्बाकु र लखनपुरमा तीन वटा, थीकोभीर, दोपाखे, घाँटी, पोला, बुँदी क्षेत्रमा एकरएक वटा गरी जम्मा ८ वटा काठेपुल निर्माण भएको पाइएको वडाध्यक्ष बुढाथोकीले बताए ।

यसअघि नेपाल भारतका अधिकारीहरुबीच भएको छलफलमा ती पुलहरु भत्काउने सहमति भएको थियो । नेपाली पक्ष कडा रुपमा प्रस्तुत भएपछि काठेपुल हटाउन भारत सहमत भएको थियो । दुई वटा काठेपुल भारतले यसअघि हटाएको पनि थियो ।

नेपाली पक्षको आवश्यकता भएको ठाउँमा पुल निर्माण गर्न नदिने र मानवीय वस्ती नभएको क्षेत्रमा पुल निर्माण गरेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् । मंगलबार स्थानीयहरुले आफ्नो आवश्यकता रहेको क्षेत्रमा पुल निर्माण गर्न भारतले अनुमति नदिएको भन्दै ५ ठाउँका अस्थायी काठेपुल हटादिएका हुन् ।

३०/३५ जना स्थानीयहरुको टोली गएर तम्बाकु र लखनपुर क्षेत्रका तीन वटा र थीको भीर र दोपाखेमा भारतले निर्माण गरेका एकरएक वटा गरी पाँच वटा काठेपुल भत्काइदिएका हुन् । पुल भत्काउनमा नेपाली सेना, सशस्त्र सीमा सुरक्षा बलले समेत सहयोग गरेको थियो । नेपाली सेनाको टोलीले सुरक्षा प्रदान गरेसँगै स्थानीयले काठेपुल भत्काएका हुन् ।