गाई काट्दा परे चार पक्राउ

चैत्र ११  , कपिलवस्तु –  कपिलवस्तुमा गाई काटेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । विजयनगर गाउँपालिका – ४ ज्योतिनगरबाट रातिको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीय ७० वर्षीय हुमबहादुर रानालाई झण्डै ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरैे मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेपछि यो तथ्य बाहिर आएको हो । राना पक्राउ परेको एक दिनपछि गाई काट्नमा सहयोग गरेको भन्दै त्यहि गाउँबाट हिजो अन्य तीनजनालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । हिजो पक्राउ पर्नेमा कुमारी घर्ती, रामकुमारी घर्ती र कुन्ती थापा रहेको गणेशपुर इलाका प्रहरी कार्यालयका प्रमुख खिमबहादुर घमले जानकारी दिनुभयो । पक्राउ परेकालाई कृष्णनगर प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।