प्रधानमन्त्री केपी ओलीले आज संसदमा विश्वासको मत लिदै

काठमाडौं, २७ फागुन – प्रधानमन्त्री  केपी ओलीले आज संसदमा विश्वासको मत लिदैहुनुहुन्छ ।  राष्ट्रपतिबाट फागुन ३ मा प्रधानमन्त्री नियुक्त ओलीलाई राजपा र फोरमले पनि मत दिने तयारी गरेका छन् । वाम गठबन्धनका प्रधानमन्त्री ओलीको पक्षमा दुईतिहाइ बहुमत पुग्ने अनुमान गरिएको छ। ज्येष्ठ सदस्यको हैसियतमा सभामुख बनेका महन्थ ठाकुरले हिजो बसेको संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण गर्नुभएको हो । ठाकुरले आज ३ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण गरिएको जानकारी संसद्मा गराउनुभयो । विश्वासको मत लिन अघि पार्टी एकता प्रक्रियामा रहेका एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आज  बस्दैछ । बैठक मध्याह्न १२ः ३० बजे बस्नेछ । संसदीय दलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । पार्टी एकता गर्ने घोषणा गरेका दुवै दलले संयुक्त संसदीय दलको बैठक अभ्यास गर्दै आएका छन् । विश्वासको मतदानमा आफ्ना सबै सांसदलाई सरकारको पक्षमा मतदान गर्न बैठकले आग्रह गर्ने जनाइएको छ । विश्वासको मतदानमा मधेश केन्द्रित दल पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिने विश्वास गरिएको छ । त्यसका लागि राजपाले प्रधानमन्त्री ओलीको पक्षमा सहयोग गर्ने बताएको छ । यता संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने या नदिनेबारे निर्णय गरेको छैन । आज १२ः ०० बजे बस्ने पार्टीको संसदीय दलको बैठकले निर्णय लिने पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।