महँगो उपहारको लोभमा पर्दा यसरी गुम्यो ५१ लाख !

फागुन २२,काठमाडौँ  – पर्वतकी पवी क्षेत्री र लक्ष्मीदेवी चपाई ‘महँगो उपहार’ को नाममा ठगीएका छन् । हुण्डी कारोबारीहरुले नाटकीय रुपमा उनीहरुबाट ५१ लाख रुपैंया ठगेको रहस्य खुलेको छ । ठुलो रकम ठगिएपछि उनीहरु चार दिन देखि प्रहरी कार्यालय धाइरहेका छन् । पोखरास्थित पृथ्वी नारायण क्याम्पसबाट स्नातक पास गरेर जर्मनी जान काठमाडौंमा आईएलटीएस तयारी गरिरहेका उनीहरुको जीवनमा नसोचेको घटना आइलागेको छ । दुई महिना अघि फेसबुकमा बेलायतका ब्रेन लुसिया बकार नामका व्यक्तिले सुरुमा लक्ष्मीलाई फ्रेन्ड रिक्वेस्ट पठाए ।

लक्ष्मीले एसेप्ट गरेपछि ब्रेनले तुरुन्तै फोन गरेर ‘तिमीलाई महँगो उपहार पठाएको छु लिनु’ भन्ने खबर गर्छन् । लक्ष्मीले खुसी हुँदै उक्त कुरा साथी पबीसँग सेयर गर्छिन् । दुवै मिलेर उक्त गिप्ट लिने प्रयासमा जुट्छन् । गिफ्टमा ४० हजार पाउन्ड र महँगा गहना रहेको भनिएको हुन्छ । फेसबुकपछि ब्रेनसँग ह्वाट्स एपमा समेत गफ भयो दुवैको । एकाएक ब्रेनले गिफ्ट भन्सार कटाउन ४५ हजार रुपैयाँ पठाउन पवीलाई आग्रह गर्छन् । उनीहरुले पैसा बुढामाया थामसुङको नाममा आईएमईबाट पैसा पठाइ दिन्छन् । ब्रेनले पैसा पठाउन भारतबाट फोन आउने जानकारी गराउँछन् पवीलाई । भारतीय नम्बरहरु क्रमश ः ९१८५२७७४९८६७, ९१६३२११८४३७३ र ९१७०५३३६१२८४ बाट पवीलाई फोन आउँछ ।

ती भारतीय नागरिकले आफू दिल्लीमा रहेको र तपार्इँहरुको गिफ्ट आइपुगेको छ भन्सार कटाउन थप पैसा चाहिने भयो भन्दै पैसाका लागि पवी र लक्ष्मीलाई फोन गर्छन् । उनले काठमाडौं सीतापाइलाका जयराम कार्कीको फोन नम्बर दिएर उसैसँग सम्पर्क गर्न लगाउँछन् । जयरामले भने अनुसार पवी र लक्ष्मीले सुशीला थामसुङको नाममा एक लाख ५० हजार, विमला थामसुङको नाममा सिटी एक्सप्रेसबाट एक लाख २५ हजार र साधना नामकी युवतीको नाममा सिटी एक्सप्रेसबाटै एक लाख २५ हजार रुपैयाँ गरी चार लाख ५० हजार रुपैयाँ पठाउँछन् । यति हुँदा पनि पवी र लक्ष्मीले ठगीएको थाहा पाउँदैनन् ।

गिफ्ट नपाएपछि पवी र लक्ष्मीले जयरामसँग सम्पर्क गर्छन् । जयरामले थप दिल्ली सम्म गिफ्ट आइपुगि सक्यो उतैबाट फोन आउँछ भनेर टार्छन् । त्यसपछि दिल्लीबाट पुन फोन आउँछ । ‘सीधै पैसा पठाउन नमिल्ने भयो । भारतीय रिजर्भ बैंकको खातामा पैसा पठाएपछि गिफ्ट सजिलै नेपाल ल्याउन सजिलो हुन्छ’ भनेर थप पैसा दिल्लीबाट मागिन्छ । पवी र लक्ष्मीले जयरामलाई दिल्ली पठाउन पटकपटक गरी ४१ लाख रुपैंया दिन्छन् । एकाएक बेलायती नागरिक भनिएका ब्रेनले आफू दिल्ली आएको र यति ठूलो धनराशीको स्रोत देखाउन नसकेपछि प्रहरीले पक्राउ ग¥यो छुटाउन थप पाँच लाख ६५ हजार पठाउन पवी र लक्ष्मीलाई आग्रह गर्छन् ।

झण्डै आधा करोड रुपैंयाँ पठाइ सक्दा पनि गिफ्ट नआएपछि पवी र लक्ष्मीले परिवारमा कुरा साटासाट गर्छन् । परिवारका सदस्यले ‘तिमीहरु ठगियौ’ भन्दै प्रहरीमा लिएर पुग्छन् दुवैलाई । महानगरीय प्रहरी परिसर टेकुले अनुसन्धान गरी जयराम, खिचापोखरीस्थित जय दुर्गा ट्रेड इन्टरनेश्नल नामक कस्मेटिक होलसेलका म्यानेजर कृष्ण गोपाल अग्रवाल र सिन्धुपाल्चोक घर भई खिचापोखरीमै नेपाल लोजेष्टिक प्रालिका कामदार मुस्कान तामाङलाई पक्राउ गरेको छ ।

उनीहरुरुबाट १५ लाख रुपैंया बरामद भएको छ । प्रहरीका अनुसार पवी र लक्ष्मीबाट लिएको पैसा जयरामले नारायण र नारायाणले दिल्लीका पंकज अग्रवाललाई पठाएका थिए । अनुसन्धान गर्दै जाँदा पवी र लक्ष्मी हुन्डी कारोबारीको चंगुलमा फसेको रहस्य खुलेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार पवी र लक्ष्मीलाई हुन्डी कारोबारीले ठग्ने नियतले पैसा लिएको देखिएको छ । यो घटनामा नारायण अग्रवाल (हाल अमेरिका) र नेपाल लजेष्टिक प्रालिका सञ्चालक राकेश गुप्ता फरार छन् । पोखरेल काठमाडौंमा हुन्डी कारोबारीको अवस्था डरलाग्दो रहेको बताउँछन् । उनले भने, ‘आर्थिक स्थितिलाई कमजोर तुल्याउन हुन्डी कारोबारीहरु सक्रिय छन् । गैरकानुनी सम्पत्ति मुलुक बाहिर कानुनी बैधता पाउन हुन्डी कारोबारीहरु संगठीत देखिन्छन् । हामी रोक्ने प्रयासमा छौं ।’
अन्नपूर्णबाट