फोरमको पर्खाइमा सरकार विस्तारमा ढिलाई, राजपा पनि सरकारमा आउन इच्छुक

फागुन २१,काठमाडौं – एमाले, माओवादी र फोरमबीच पटक पटक त्रिपक्षीय वार्ता भएपनि मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ ।

सरकारमा दुईतिहाई बहुमत पुर्‍याउने कसरतमा लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले फोरमलाई पर्खेका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको हो ।

संविधान संशोधनका बारेमा त्रिपक्षीय सैद्धान्तिक सहमति भएपनि मन्त्रालयको भागबण्डा टुंगिन सकेको छैन । आइतबार एमाले, माओवादी र फोरमको शीर्ष नेताहरुबीच दिनभरजसो छलफल भएपनि ठोस निर्णय भने हुन सकेन । सहमतिको प्रयास भैरहेको नेताहरुको भनाई छ ।

सहमतिको गाँठो

वाम गठबन्धन र फोरमबीच सरकार गठनका विषयमा छलफल हुँदै आएको छ ।

पटक पटकको वार्तापछि नेताहरुले सहमति नजिक पुगेको दाबी गरेपनि सहमति हुन सकेको छैन । मुख्य रुपमा पेचिलो बन्दै गएको मन्त्रालयको भागबण्डाको गाँठोले सहमतिको बिन्दुलाई धकेल्दै गएको छ ।

संघीय समाजवादी फोरमले उप्रधानमन्त्री सहित तीन मन्त्रालयको माग गरेको छ । स्रोतका अनुसार पार्टीभित्र मन्त्रीको आकांक्षीलाई व्यवस्थापन गर्न उपेन्द्र यादवले ३ मन्त्रालयको अडान छाड्न सक्नुभएको छैन । तर वाम गठबन्धन फोरमलाई तीन मन्त्रालय दिन तयार छैन ।

उप-प्रधानमन्त्री नराख्ने निर्णय गरिसकेका प्रधानमन्त्री ओलीले फोरमलाई ल्याउनकै लागि उपप्रधानमन्त्री दिन नसक्ने बताउनुभएको छ । वाम गठबन्धन २ मन्त्रालय सहित १ राज्यमन्त्री दिन भने लचिलो भएको छ । २५ सदस्यीयसम्म मन्त्रिपरिषद गठन गर्न सक्ने संवैधानिक व्यवस्था भएपनि सरकारले १७ मन्त्रालय कायम गरेको छ ।

जस अनुसार एमालेले १० र माओवादीले ७ मन्त्रालय लिने सहमति भएको छ । दुबै दलमा मन्त्रीका आकांक्षी व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा फोरमलाई ३ मन्त्रालय दिन नसक्ने वाम गठबन्धनको बुझाई छ । तैपनि एक मन्त्रालय थपेर भएपनि फोरमलाई सरकारमा सहभागी गराउने विषयमा छलफल भैरहेको बुझिएको छ ।

राजपा पनि सरकारमा जान इच्छुक

राष्ट्रिय जनता पार्टी राजपाले सरकारमा सहभागी हुन इच्छा देखाएको छ । उसले फोरमसँग मात्र नभई आफूहरुलाई पनि समेटेर संविधान संशोधनका लागि वार्ता गर्न माग गरेको छ । राजपा नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन गर्दै मधेश आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता लिए सरकारमा जान सक्ने बताउनुभयो ।

तर उहाँले तत्काल राजपा सरकारमा जाने संभावना भने नरहेको बताउनुभयो । तर पछिल्लो समय राजपाका नेताहरुले सार्बजनिक कार्यक्रममै सरकारले फोरमसँग मात्र वार्ता गरेको र आफूहरुलाई वास्ता नगरेको भन्दै असन्तुष्ट जनाउन थालेका छन् ।

आइतबार राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सरकार गठन र संविधान संशोधनबारे कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । माओवादीका एक नेताका अनुसार राजपालाई पनि सरकारमा ल्याउनका लागि पहल भैरहेकोे छ ।