डा. गोविन्द केसी विरुद्ध अख्तियारमा उजुरी !

फागुन १४ ,काठमाडौं  – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सरकारी सेवामा रहँदा पदको दुरुपयोग गरेर अराजकता फैल्याएको आरोप सहित नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रीय श्रम तथा रोजगार विभागका सचिव विपिन ढकालले आइतवार केसी विरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

केसी विरुद्धको उजुरी अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयमा आइतवार दिउँसो दर्ता भएको उजुरीको नम्बर १२३९६ रहेको छ । ढकालले अख्तियारमा दर्ता गरेको उजुरीमा केसीले सरकारी सेवामा रहँदा पदको दुरुपयोग गरेकाले उनी माथि छानबिन गर्न माग गरेका छन् ।

चार बुँदे उजुरीमा उनले पहिलो नम्बरमै डा. केसी सरकारी सेवामा हुँदा हुँदै पनि सेवाबाट बिमुख भई अस्पतालमा उपलब्ध हुने सेवा समेत प्रभावित हुने गरी सडक आन्दोलन गर्ने तथा सर्वोच्च अदालत तथा प्रधानन्यायाधीशको मर्यादा र गरिमामा आँच आउने क्रियाकलाप गरेको आरोप लगाइएको छ । त्यसैगरी दोस्रो नम्बरमा शैक्षिक प्रमाण पत्र तथा सेवा आवेदन लगायतका विभिन्न ठाउँमा फरक फरक जन्म मिति राखेर अनुचित लाभ लिएको आरोप पनि उजुरीकर्ता ढकालले केसी माथि लगाएका छन् ।
अन्नपूर्णबाट