रेलमार्गको ठाउँ सारे रेलमार्ग आउनै नदिने चेतावनी

 

फागुन ७, वुटवल – तिलोत्तमा नगरपालिकाले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको कामलाई यसअघि नै सर्वे भई विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेकै स्थानबाटै अगाडि बढाइनु पर्ने जनाएको छ । रेलमार्गका लागि बैकल्पिक स्थानबाट सर्वे गर्न थालिएको भन्दै वडा नं. १ र ४ का बासिन्दा त्रसित भइरहँदा नगरपालिकाले आफ्नो धारणालाई प्रष्टाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको रेलवे विभागले बुटवलको कालिकानगर क्षेत्रबाट तम्सरिया–बुटवल खण्ड तथा बुटवल–भैरहवा–लुम्बिनी लिङ्कका लागि यसअघि नै सर्वे गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले रेलमार्ग पहिले नै सर्वे भएको स्थानबाट अघि बढाइनु पर्ने बताउँदै ठाउँ सार्ने विषयमा नगरपालिका सहमत नरहने बताए । ‘रेलमार्गको ठाउँ सार्ने विषयमा तिलोत्तमा नगरपालिका सहमत हुनै सक्दैन ’ उनले भने, ‘ठाउँ सार्दै जाने हो भने रेलमार्ग सम्भव पनि छैन ।’

नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरी रेलमार्गलाई वडा नं. १ र ४ बाट लैजाने भन्दै गरिएको ‘सर्वे’ प्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त कार्य बन्द गर्न सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ । सोही विषयलाई लिएर नगरपालिकाले रेल विभागलाई पत्र पठाइसकेको छ । रेल विभागले भने तिलोत्तमाको वडा नं. १ र ४ मा सर्वे नभई ‘अध्ययन’ मात्र गरिएको जनाएको छ ।
नेपाल समाचारपत्रबाट