शिवरात्रिकै दिन एक्कासि वर्षासँगै देशभर चिसो वढ्यो

फागुन १,काठमाडौँ -पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ सहित देशैभर मौसम बदली भएको तथा केही स्थानमा छिटफुट वर्षा भएको छ । आज विहानै देखि काठमाडौं उपत्यका लगायत आसपासमा पानी परिरहेको छ भने उच्च हिमाली भेगहरुमा हिमपात समेत भएको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका कारण बनेको पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभर मौसममा बदली भएको र पश्चिमी भेगमा वर्षा समेत भएको छ ।

मौसमविद शान्ति कँडेलका अनुसार मंगलबार बिहान देखि नै राजधानी लगायत देशका अरु भागमा वर्षा हुने र अपराह्न देखि मौसममा सुधार आउनेछ । मौसममा आएको बदलीका कारण राजधानीमा चिसो बढेको छ । महाशाखाका अनुसार हिजो सुर्खेतमा १५.९, डडेल्धुरामा ११, दिपालयमा ६, जुम्लामा १४, बाँकेमा सात, दाङमा दुई र कैलालीमा ४.२ मिलिलिटर वर्षा भएको छ । काठमाडौँको अधिकतम तापक्रम २० र न्यूनतम सात डिग्री सेल्सियस थियो ।
रासस