यी पाँच भाग्यमानी करोडपति , जो पैसाकै बलमा साँसद पनि भए

फागुन १,काठमाडौँ – समानुपातिक समावेशी कोटामा यो पटक पनि धनाढ्य उद्योगपति र व्यापारीहरु सांसद बन्दैछन् । नेपालका सबैभन्दा धनी विनोद चौधरी, सेन्चुरीयन समूहका मोतिलाल दुगड, प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठ, ठेकेदार जीपछिरिङ लामा र उद्योगी सूर्यबहादुर केसी पैसाको बलमै सांसद बन्न लागेका हुन् ।

नेपालका सबैभन्दा धनी खर्बपति व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसले मधेसी कोटाबाट सांसद बनाएको हो । अमेरिकाको फोर्ब्स पत्रिकाको विश्वका धनी व्यक्तिको सूचीमा रहेका नेपालका एकमात्र खर्बपति चौधरीको नाम मधेसी कोटाको एक नम्बरमा छ। उनीभन्दा पछि कांग्रेस पुराना र त्यागी नेता स्मृतिनारायण चौधरीको नाम छ । निजी विद्यालय अर्थात बोर्डिङ स्कुल चलाएर करोडपति बनेका निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का पूर्वअध्यक्ष उमेश श्रेष्ठ पनि समानुपातिकबाट सांसद बनेका छन् । कांग्रेसले आदिबासी जनजाति कोटाबाट श्रेष्ठलाई सांसद बनाएको हो । यसैगरि ठेकेदार जिपछिरिङ लामाले पनि सांसद बन्ने सौभाग्य पाएका छन् । दोलखाका ठेकेदार एवम् नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष लामा कांग्रेसकै तर्फबाट आदिबासी जनजातिको भागमा सांसद बन्दैछन् ।

यता सेन्चुरीयन ग्रुपका मोतीलाल दुगडलाई एमालेले समानुपातिकबाट सांसद बनाएको छ । समानुपातिकबाट एमालेका चार पुरुष सांसद बन्ने अवसर पाउँदा दुगडले मौका पाएका छन् । दुगड एमालेको मधेसी कोटाबाट सांसद बन्ने एक मात्र भाग्यमानी हुन् । उनी भारतबाट आएर काठमाडौँमा बस्दै अर्बपति बनेका व्यापारी हुन् । सूर्यबहादुर केसी पोखराका उद्योगी हुन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अघि मात्रै राप्रपा छोडेर कांग्रेस प्रवेस गरेका केसीले समानुपातिकको खसआर्य कोटाबाट सांसद बन्ने अवसर पाएका छन् । केसी रारा चाउचाउको उप्पादक उद्योग हिम श्री फुड्सका कार्यकारी अध्यक्ष हुन् । उनले जलविद्युतको क्षेत्रमा समेत लगानी गर्दै आएका छन् । उनी पोखरा नगर पञ्चायतको प्रधानपञ्च देखि पहिलो संविधान सभामा राप्रपाबाट सभासद समेत भएका थिए ।
अन्नपूर्णबाट