आज महाशिवरात्री, हिन्दुधर्मालम्बीहरूले भव्यताका साथ मनाउँदै

फागुन १, काठमाडौँ – आज महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी नेपाल लगायत हिन्दु धर्मालम्बी रहेका हरेक ठाऊँमा मनाइँदैछ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि हिन्दुहरूको एक प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएको मानिन्छ । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् । यसैकारण यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि भनिन्छ ।

उनको रूप बडो विचित्रको छ । शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्–तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ । साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन र श्रीसंपत्तिका दात मानिन्छन् ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये शिवरात्रीलाई एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित गरिएको छ । यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ ।
शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ । अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकुट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।
भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तर्ीथयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।
यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यसवर्षविशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।