देउवा सरकारका सबै निर्णय नयाँ सरकारले बदर गर्ने !

माघ २८, काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि सरकारले गरेको नियुक्ति लगायतका सम्पूर्ण निर्णय वाम गठबन्धनमा बन्ने आगामी सरकारले बदर गर्ने तयारी गरेको छ । सरकारले गरेका निर्णय बदर गर्दा अदालती बाटोबाट निर्णय उल्टन सक्ने भन्दै वाम गठबन्धनका नेताले संसदमा विशेष प्रस्ताव पास गरी सबै निर्णय बदर गर्ने तयारी गरेको हो ।

‘प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन पछि सरकार स्वतः काम चलाउ हुने भएकाले सो सरकारले गरेका निर्णय बदर हुनेछ,’ निर्वाचनपछि सरकारले गरेका निर्णयबारे प्रतिक्रिया दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका छन्, ‘यो सरकारले जनमतको उपेक्षा गर्दै राज्यको ढुकुटीमै दूरगामी असर पार्ने सस्तो लोकप्रियताका कार्यक्रमको निर्णय गरेकाले त्यसलाई आगामी सरकारले खारेज गर्नेछ ।’ सरकारले गरेका निर्णय खारेज तथा बदर गर्न मन्त्रिपरिषद्ले निर्णय गरे पुग्नेमा वाम गठबन्धनको सरकारले त्यस्तो निर्णय उल्ट्याउन नसक्ने गरी निर्णय बदर गर्ने बाटो रोज्ने तयारी गरेको हो । बिहीबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको वान टु वान वार्तामा समेत निर्वाचनपछिको काम चलाउ सरकारले गरेका निर्णय बदर गर्ने उपाय माथि छलफल भएको स्रोतले बतायो ।
राजधानीबाट