सरकार थप १ हजार ६४ जनालाई १४ करोड रुपैयाँ बाँड्ने तयारीमा, डडेल्धुराका मात्र २ सय १० जना

माघ २६, काठमाडौं – सत्ताबाट बहिर्गमन हुने बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाले थप १४ करोड रुपैयाँ आर्थिक सहायता वितरणको तयारी गरेका छन्। सम्भवत: अब बस्ने मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता वितरण कार्यविधिको ठाडो उल्लंघन गर्दै राज्यको ढुकुटीबाट आफु, मन्त्रीहरु र प्रभावशाली नेताका पहुँचवाला आफन्त र कार्यकर्तालाई उक्त रकम बाँड्ने निर्णय गर्ने छन् ।

अब बस्ने मन्त्रिपरिषद्का लागि तयार भएको कान्तिपुरलाई प्राप्त सूचीअनुसार सरकारले झन्डै १ हजार ६४ जनालाई ५० हजार रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म वितरण गर्ने प्रस्ताव तयार पारेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १ हजार जनालाई आर्थिक सहायता रकम उपलब्ध गराउनका लागि प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ ।

आर्थिक सहायता कार्यविधिले भने आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई उपचार खर्चबापत सोझै अस्पताललाई बिलभर्पाइ अनुसार मात्र रकम दिने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्ले नै बनाएको कार्यविधिको उल्लंघन गर्दै प्रधानमन्त्री र मन्त्रीहरूले यसअघि पनि आफूखुसी कार्यकर्ता र आफन्तलाई मोटो रकम वितरण गर्दै आएका छन् ।

आर्थिक सहायता दिन लागिएको सूचीमा प्रदेश ७ का ३ सय ५८ तथा प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुराका मात्र २ सय १० जना छन् । डडेलधुरामा पनि प्रधानमन्त्री देउवाको घर रहेको गन्यापधुरा गाउँपालिकाका बढी छन् । प्रधानमन्त्रीको सिफारिसमा ७ सय ९५, स्वास्थ्य मन्त्री दीपक बोहराको सिफारिसमा १ सय ७८ र अरू मन्त्रीको सिफारिसमा ९१ जनालाई आर्थिक सहायता वितरण गर्न लागिएको हो ।
सरकारले पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता रामकृष्ण ताम्राकारलाई सबभन्दा बढी २५ लाख रुपैयाँ दिने तयारी गरेको छ । चितवनका कांग्रेसनिकट शिक्षक संघका अध्यक्ष देवेन्द्रप्रसाद उपाध्यायलाई १० लाख दिन लागिएको सूचीमा उल्लेख छ । रकम पाउने सूचीमा चुनावमा पराजित कांग्रेस नेताहरू पनि छन् । झापा–३ बाट पराजित कांग्रेस जिल्ला सभापति उद्धव थापालाई ६ लाख रुपैयाँ दिने तयारी छ । कांग्रेस गुल्मीका पूर्वसभापति चन्द्रबहादुर केसीलाई २ लाख दिने तयारी छ ।कान्तिपुरबाट
सल्यानका कांग्रेस नेता ध्रुवबहादुर मल्ललाई ४ लाख तथा कांग्रेसका पूर्वसांसद ललिता किङरिङ मगरलाई ३ लाख दिने तयारी छ ।