आफूलाई ५ वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव आएको प्रचण्डको खुलासा

माघ १४, काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धन भत्काउन आफूलाई पाँच वर्ष प्रधानमन्त्री दिने प्रस्ताव गरेको खुलासा गरेका छन् । शनिबार दिउँसो एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौं चितवन जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।

कांग्रेसको नाम नलिई प्रचण्डले आफूलाई एक शक्तिले पाँच वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलासा गरेका हुन् । ‘जनताले पार्टी एकतालाई अनुमोदन गरिसकेका छन् । हामीसँग एकताको कुनै विकल्प छैन । तर यस बीचमा पार्टी एकताको प्रयासमा मैले निकै ठूला चूनौतिको सामना गरेँ’, प्रचण्डले भने, ‘एउटा शक्तिले वाम गठबन्धन भत्काउन मलाई पाँच वर्षकै प्रधानमन्त्री दिने प्रस्ताव गर्यो, मैले त्यसलाई इन्कार गरेँ ।’ प्रचण्डले त्यो शक्ति अहिले फेरि गठबन्धन भत्काउन अर्कोतिर लागेको बताए । उनले एकतालाई जसरी पनि सफल पार्न सबैको सहयोग आवश्यक भएको बताए । ‘फेरि त्यो शक्ति एकता भत्काउन अर्कोतिर लागेको छ। एकता हुन नदिन निकै ठूला प्रयास भइरहेका छन्’, प्रचण्डले भने, ‘हामीले एकतालाई जसरी पनि सफल पार्नुपर्छ, त्यसका लागि तपाईहरु जस्तो बौद्धिक समूहको सहयोग चाहिन्छ।’

अन्नपूर्णबाट