समयमै उपचार नभए कांग्रेसलाई गाह्रो हुन्छ – गुरु घिमिरे

माघ २,काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गुरुराज घिमिरेले निर्वाचनमा पराजयपछि कांग्रेसमा लागेको घाउको समयमै उपचार नभए ठुलो क्षति पुग्ने बताएका छन् । ‘घाउ लाग्ने वित्तिकै उपचार गर्नु पर्छ’, घिमिरेले भने, ‘धेरै रगत बगेपछि निको हुन गाह्रो हुन्छ ।’ उनले चुनावमा पराजयको एक कारण वाम गठबन्धन भएपनि आन्तरिक कारण प्रमुख रहेको बताए । ‘हारको एउटा कारण वाम गठबन्धन होला तर प्रमुख कारण आन्तरिक हो । सरकारमा पार्टी रहेको अवस्थामा कसरी यस्तो लज्जापद पराजय भयो ’, उनको प्रश्न थियो, ‘हामी मात्र होइन अरु पार्टीका साथीहरु समेत तिमीहरुले कसरी नराम्रोसँग हार्यौ‍ भन्छन्, पार्टीमा मात्र होइन बाहिर समेत कांग्रेसको हारको कारण खोजी भइरहेको छ ।’

उनले हारमा संस्थागत कमिकमजोरी नेतृत्वकै कारणले भएको बताए । निरन्तर मन्त्री हुने देखि टिकट वितरण सम्ममा भएको कमजोरीले पराजय भोग्नु परेको घिमिरेको बुझाई छ । ‘हाम्रा मन्त्रीले के काम गरे ? जनतासँग किन पुगेनन् ?’, घिमिरेको प्रश्न थियो । घिमिरेले आफनै नेतृत्वको सरकारले गराएको चुनावमा पराजय भोग्नुपर्दा कार्यकर्तामा निराशा, चिन्ता र अन्यौलता छाएको बताए । घिमिरेले हारको जिम्मेवारी नेतृत्वले लिन सक्नु पर्ने बताए । हार भित्र नेतृत्व देखि युवा नेता सम्मको कमजोरी भए पनि सबैले जिम्मेवारी लिन तयार हुनु पर्ने बताए । अहिलेको छलफललाई सामान्य भन्दै उनले आफूहरुले गुट भन्दा माथि उठेर छलफल गरेको दाबी गरे ।
अन्नपूर्णबाट