राष्ट्रियसभामा बाम गठबन्धनको ४० र काँग्रेसको १२ सिट आउने सम्भावना

पुस ३०, काठमाडौँ – राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ४० सिट जित हात पार्ने देखिएको छ । प्रदेश २ बाहेक अन्यमा बलियो देखिएको वाम गठबन्धनले प्रदेश ६ मा तीनवटै खुला र तीनवटै महिला जित्ने देखिएको हो। कांग्रेसले १२ र मधेसकेन्द्रित दलले ४ सिटमा मात्र जित निकाल्ने देखिएको छ । राष्ट्रियसभाको ५६ सिटका लागि माघ २४ गते निर्वाचन हुँदैछ । ५९ सदस्यीय राष्ट्रियसभामा एक महिला सहित तीन जना राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ।

प्रदेशसभाका सांसद र स्थानीय तह (गाउँपालिका/नगरपालिका) का प्रमुख र उपप्रमुख मतदाता हुने भएकाले राष्ट्रियसभाको नतिजा अनुमान गर्न सकिएको हो । ७ सय ५३ स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् तर स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतको भार भने फरक–फरक छ ।

स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मतको भार ४८ निर्धारण गरिएको छ । दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ । प्रत्येक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभामा सांसद निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट तीन महिला, एक जना दलित र एक जना अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र तीन जना अन्य निर्वाचित हुनेछन् । एक जना दलित र एक जना अल्पसंख्यक वा अपांगता भएका व्यक्तिका लागि बहुमतीय चुनाव प्रणाली अवलम्बन हुनेछ भने तीन महिला र तीन अन्यका लागि एकल संक्रमणीय चुनाव प्रणाली लागू हुनेछ ।
अन्नपूर्णबाट