जाजरकोटको भाइरल प्रकोप नियन्त्रण बाहिर : १३ जनाको मृत्यु !

 

पुस २७,जाजरकोट- दुई साता यता देखि जाजरकोटका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल ज्वरोबाट मंगलबार र बुधबार थप दुई जनाको ज्यान गएको छ । भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारीको ज्यान गएको छ । त्यस्तै जुनीचाँदे ५ टिप्ककी ६५ वर्षीया कालु तिरुवाको पनि ज्यान गएको छ ।

स्वास्थ्य शिविरमा राम्रो उपचार नपाए पछि भण्डारी निजी मेडिकलमा गएका थिए । त्यहाँ पनि उपचार हुन नसकेपछि झारफुक तिर लागेका थिए । गोठमा बस्दै आएकी कालु केही दिन देखि चिसोले थलिएकी थिइन् । उनलाई रुघाखोकी र ज्वरो आएको थियो । समयमा उपचार नपाएपछि उनको मृत्यु भएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिले सम्म मृत्यु हुनेमा पाँच वर्ष मुनिका सात बालबालिका र ५० वर्ष माथिका ६ जना छन् । जुनीचाँदे २ मजकोटबाट सुरु भएको भाइरल प्रकोप वडा नं १, ३, ४ को कोर्ताङ, वडा नं ५ गर्खाकोट र वडा नं १० सम्म फैलिएको छ । शनिबार देखि भाइरल पीडितको शिविर खडा गरी उपचार गरिएको छ । शिविरमा १२ सय जनाको उपचार गरिएको छ । उपचार थालिए पनि बिरामी अझै नघटेको उपचारमा संलग्न डा. शाक्यले जानकारी दिए।
अन्नपूर्णबाट