राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक

पुस २७,काठमाडौं – निर्वाचन आयोगले आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका हिजो सार्वजनिक गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मतदाता नामावली प्रकाशन माघ ७ गते हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता माघ १० गतेलाई तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

उम्मेदवारलाई निर्वाचन चिह्न माघ १५ गते प्रदान गरिने छ भने मतदान २४ गते बिहान १० देखि अपराह्न ३ बजे सम्म सञ्चालन हुनेछ । उक्त निर्वाचनको नतिजा माघ मसान्त सम्ममा सार्वजनिक हुने जानकारी दिइएको छ । स्थानीय तहका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ५६ जना मतदाता रहने छन् ।

स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखले दिने मतभार १८ रहने तथा प्रदेशसभा सदस्यले दिने मतभार ४८ हुनेछ । उक्त निर्वाचनका लागि उच्च अदालत रहेको जिल्लामा मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । आयोगका अनुसार, धनकुटा, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।
राजधानीबाट