सरकारले सके सम्म सहमतिमै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने

 

पुस २४, काठमाडौं – सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सरकार सके सम्म सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने प्रयासमा रहेको बताएका छन् ।आइतबार सञ्चारकर्मीसँग विशेष कुराकानी गर्दै मन्त्री बस्नेतले सरकार सम्भव भए सम्म सहमतिमै उक्त निर्णय गर्ने भनेर पर्खेको स्पष्ट पारे । उनले भने, ‘अहिले सम्म यस विषयमा सहमति जुटिसकेको छैन, सहमति भएन भने भोलि मन्त्रिपरिषद्को बैैठक पनि नबस्ने सम्भावना छ, प्रधानमन्त्री शेरबहादुर देउवाले यी दुबै विषयमा सबै दलसँग सम्भव भए सम्म सरसल्लाह गरेर नै निर्णय गर्ने विचारले छलफल जारी राख्नु भएको छ।’

उक्त निर्णयमा किन ढिलाइ भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले सबैको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्दा प्रभावकारी र महत्वपूर्ण हुन्छ भन्ने प्रधानमन्त्री देउवाको मनसाय रहेको बताए। सबै दलको सहमति लिन खोज्दा केही ढिलाइ देखिएको धारणा व्यक्त गर्दै उनले संविधान निर्माणमा सबै दलको सहमति र योगदान रहेकाले कार्यान्वयनमा पनि सहमति होस् भन्नेमा सरकार रहेको स्पष्ट पारे। ‘तर दिन घर्किंदै गयो र ढिला हुन लाग्यो भने र समय बाँकी भएन भने सरकारले निर्णय लिन्छ’, उनले भने।
नागरिकबाट