२० दिनमै हुन सक्ने राष्ट्रिय सभा निर्वाचनलाई बिलम्ब गर्दै सरकार र आयोग

पुस २१,काठमाडौं – प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोट सम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगले बढीमा तीन दिन भित्र अर्थात २३ पुस भित्र निर्वाचनको अन्तिम परिणाम घोषणा गर्न सक्छ । सरकारले चाहेमा तत्काल प्रदेश प्रमुख नियुक्त गर्न सक्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार प्रमुख दलहरूसँग यसबारे छलफल पनि गरिसकेका छन् । सोमबार मन्त्रिपरिषद बैठक बस्ने तयारी छ । चाँडो निर्वाचन गराउने उद्देश्य भए त्यही दिन प्रदेश प्रमुखको नियुक्ति गर्न सक्छ ।

यसै वीच निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने व्यवस्था छ । आयोगले मिति घोषणा भएको बढीमा २५ दिन भित्र निर्वाचन गर्न सकिने बताउँदै आएको छ । जबकि त्यो भन्दा चाँडै निर्वाचन गर्न सकिन्छ । आयोगले २५ माघका लागि मिति तोक्न सरकारलाई सुझाएको छ । सरकारले अहिले सम्म मिति तोकेको छैन । सरकार र आयोगले चाहेमा १५ माघ भित्रै राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्न सकिने देखिन्छ ।

आयोगले प्रदेश सभाको निर्वाचन परिणाम घोषणा भएको सात दिन भित्र प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाउने संवैधानिक व्यवस्था छ । सरकारले सोमबार भित्र प्रदेश प्रमुख नियुक्त गरेमा पुस मसान्त भित्रै आयोगले प्रदेश प्रमुख समक्ष निर्वाचन प्रतिवेदन बुझाउन सक्छ । सरकारलाई सातै प्रदेशका प्रमुख नियुक्त गर्न अप्ठ्यारो भएमा एक प्रदेशको नियुक्त गरेर सातै प्रदेशको जिम्मेवारी दिन सकिने व्यवस्था पनि संविधानमै छ । जुन काम सरकारले चाहेमा तत्काल गर्न सक्छ । आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न पुस मसान्त सम्मको समय दिइसकेको छ । जबकि यो काम पनि बढीमा सात दिन भित्रै सकिन्थ्यो । आयोगकै तालिका अनुसार पुस मसान्त भित्र दल दर्ता हुनेछन् ।
नयाँपत्रिकाबाट