मान्छे अमेरिकामा जागिर जाजरकोटमा !

 

पुस २०,जाजरकोट – सुन्दै अचम्म लाग्ने अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला ? तर जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डा. निशराज बस्नेतले विगत एक वर्ष देखि अमेरिका बसेर जाजरकोटको जागिर पकाइरहेको पाइएको छ । स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा यस्तो अनियमितता फेला पारेको हो। उनी गतवर्ष अमेरिका गएका थिए । २०७३ सालको अन्त्य सम्म उनको साढे १९ दिन संचित बिरामी बिदा थियो । २०७४ बैशाख देखि यता दुईपटक आएर हाजिर गरेर उनी पुनः अमेरिका फर्किएका थिए । यस वर्ष बैशाख २५ देखि जेठ चार गते सम्म ११ दिन हाजिर गरेर फर्किएका थिए । पुनः कार्तिक ६ गते देखि हाजिर भएका उनी २१ गते सम्म १६ दिन जिल्ला अस्पतालमा बसेर काम गरेको हाजिरी रेकर्डमा उल्लेख छ।

अन्य अवधिमा घरबिदा, सट्टा बिदा, काज, बाटो म्याद उल्लेख गरेर हाजिरी किताब भरेका छन् । घर बिदा लिइसकेर फेरि हाजिर भएपछि मात्र अर्को घरबिदाको बाटो म्याद लिन पाइन्छ तर डा. बस्नेतले कार्यालय प्रमुख डा. चाँदनी जैसवालसँगको मिलेमतोमा जथाभावी काज र बाटो म्याद स्वीकृति गराएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए। साँढे आठ महिना बिति सक्दा सम्म जम्मा २७ दिन हाजिरी छ तर सट्टा बिदा ( थप काम गरेको ) मात्र दुई महिना भन्दा बढी लिएको देखिन्छ, सहायक प्रजिअ शर्माले भने, हामीले हाजिरी रजिष्टर झिकाएर अनुसन्धान गरिरहेका छौं।
अन्नपूर्णबाट